बुधवार, आश्विन ७ २०७७
नेपाल वाइड
काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो ।
म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने क्षेत्रीले एक्लै हिँडेका बालबालिकालाई आमाको साथी हुँ भन्दै चकलेट, आइसक्रिम किनेर प्रलोभनमा पार्दै सुन लगायतका धातुका गहना लुट्ने गरेको महानगरीय प्रहरी वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार विगत लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेकी उक्त महिलाले सुन लुटेको भन्दै उपत्यकाका विभिन्न प्रहरी कार्यालयका गरी २२ पीडित बालबालिकका अभिभावकले उजूरी दिएका थिए । उपत्यकाका बौद्ध, माकलबारी, मनमैजु, कपुरधारा, कोटेश्वर, कपन, आरुबारी, महाङ्काललगायतका क्षेत्रलाई लक्ष्य गरी अभियुक्त क्षेत्रीले चोरी गर्दै आइरहेकी थिइन ।
चार वर्षदेखि दश वर्ष उमेरका बालिबालिकालाई लक्ष्यित गरी चोरी गर्ने उक्त महिलालाई प्रहरीले काठमाडौँको माकलबारीबाट गएराति पक्राउ गरी आजै म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेको छ । - रासस