सोमवार, आश्विन ५ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङमा कांग्रेस निकट युवा संगठनमा आवद्ध युवा बीपी स्मृति भवनको शौचालय, घेराबारा, गार्डनिङ लगायतका काममा जुटेका छन् । तरुण दल, नेविसंघ र लोकतान्त्रिक खेलकुद संघमा आवद्ध युवा बीपी स्मति भवनको अधुरो रहेको शौचालय निर्माण गर्ने, बीपी स्मति भवन आसपासमा घेराबारा हाल्ने, बगैंचा निर्माण गर्ने काममा जुटेका हुन् ।
कांग्रेसले ‘एल’ आकारको एक तले भवन निर्माण गरे पनि शौचालय निर्माण, घेराबारा हाल्ने लगायतका काम अधुरो रहेको थियो । पर्खाल मात्र हालेर छाडिएको शौचालयमा प्लाष्टर गर्ने, प्यान राख्ने, हज निर्माण गर्ने लगायतका काम भइरहेको तरुण दलका जिल्ला उपभापति सञ्जयकुमार राईले बताए ।
यस्तै, भवन आसपासमा १३५ फिट लम्बाई र एक फिट उचाई भएको पर्खालमाथि ६ फिट अग्लो घेराबारा हाल्ने तयारी गरिएको छ । घेराबाराभित्र राष्ट्रिय झण्डा, पार्टी तथा भातृ संगठनको झण्डा राख्ने र गार्डनिङ गर्ने काम भइरहेको तरुण दलले जनाएको छ । बीपी स्मृति भवनको शौचालय, घेराबारा, गार्डनिङको कामका लागि आवश्यक सामग्री पार्टी नेतृत्वले खरिद गरिदिएपछि श्रमदानबाट काम थालिएको तरुण दलका उपसभापति राईले बताए ।
तत्कालिन नेकपा माओबादीले २०६२ साल असार ५ गते ध्वस्त बनाइदिएपछि कांग्रेसले नयाँ भवन निर्माण गरेको हो । ‘युवाको उमेर भनेको सिर्जनात्मक र रचनात्मक कार्यमा खर्च गर्ने समय हो । त्यही भएर यो सामुहिक काममा जुटेका हौँ,’ उपसभापति राईले भने, ‘नेताको कुरा काट्ने र समस्या देखाएर भाग्ने होईन । समाधानको निम्ती इमान्दारिताका साथ समाधानमा सहभागी हुनु पनि हो ।’