Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पचास प्रतिशत कम यात्रु राखेर सवारी साधन चलाउन प्रशासनको आग्रह

    पचास प्रतिशत कम यात्रु राखेर सवारी साधन चलाउन प्रशासनको आग्रह


    • बिहिवार, आश्विन १ २०७७

    • नेपाल वाइड


    पचास प्रतिशत कम यात्रु राखेर सवारी साधन चलाउन प्रशासनको आग्रह
    जिल्ला प्रशासन कार्यालय खोटाङको कार्यालय

             खोटाङ । असोज १, जिल्ला प्रशासन कार्यालय खोटाङले सिट क्षमताको ५० प्रतिशत कम यात्रु राखेर सार्वजनिक यातायातका सवारी साधन सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

             नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुशार बिहिबारदेखि छोटो तथा लामो दुरीको सवारी साधन सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बस तथा जीपको सिट क्षमताको ५० प्रतिशत कम यात्रु राखेर सवारी साधन सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो ।

            कोरोना संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै जिल्लामा भौतिक दुरी कायम गरी यात्रु वाहक सवारी साधनको सिटको ‘एक पंक्तीमा एक यात्रु’ राखेर सार्वजनिक यातायातका सवारी साधन सञ्चालनको व्यवस्थाका लागि भनिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । सवारी साधनको सिट बाहेकका ठाउँमा यात्रु राख्न नपाउने प्रशासनले सूचनामा उल्लेख गरेको छ ।

            सहायक प्रमुख जिल्ला अधिकारी श्यामकुमार राईले बिहिबार सार्वजनिक गरेको सूचनामा सार्वजनिक यातायात सञ्चालनकाक्रममा जनस्वास्थ्य र सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न भनिएको छ । यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनीटाइजरको व्यवस्था गर्ने, सबै यात्रुले मास्क लगाउने, चालक तथा सह–चालकले मास्क, भाइजर र पञ्जा लगाउने, सवारी साधनलाई दैनिक निसंक्रमित गर्ने, भाडा दर अधिकतम ५० प्रतिशतसम्म वृद्धि गरेर लिन सक्ने प्रशासनको सूचनामा उल्लेख छ ।

             यातायात व्यवसायी र यात्रुलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको सार्वजनिक यातायात सञ्चालन र यात्रु व्यवस्थापन सम्वन्धी मापदण्ड पालना गर्न आग्रह गरिएको छ । सो सार्वजनिक यातायात सञ्चालन र यात्रु व्यवस्थापन सम्वन्धी तथा स्वास्थ्य र सुरक्षा मापदण्डको पालना भए/नभएको विषयमा ट्राफिक प्रहरीले अनुगमन गर्ने प्रजिअ पौडेलले बताए ।

            प्रशासनले अत्यवश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य मास्क प्रयोग गर्ने, न्यूनतम दुई मिटरको भौतिक दुरी कायम गर्ने, पटक–पटक सावुन पानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

             यस्तै, जनस्वास्थ्य र सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर होटल, रेष्टुरेन्ट र ट्राभल्स चलाउन पाइने छन् । तर, अर्को व्यवस्था नभएसम्मका लागि शैक्षिक संस्था, शैक्षिक र अन्य परिक्षा सञ्चालन, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, व्यूटिपार्लर, समुहमा खेलिने खेलकुद तथा प्रशिक्षण, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल सञ्चालन नगर्न भनिएको छ ।

    सम्बन्धित समाचार