शनिवार, भाद्र २७ २०७७
नेपाल वाइड
औषधी व्यवस्था विभागले बजारमा प्रयोग भइरहेका पाँच वटा ब्राण्डका ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मेथानल मिसाइएको भन्दै प्रयोग नगर्न सूचना जारी गरेको छ । विभागले २७ भदौ सूचना प्रकाशित गर्दै बजारमा उपलब्ध ती ह्यान्ड स्यानिटाइजरको नमूना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गरिएको जनाएको छ । पाँचै खालका स्यानिटाइजरले तोकिएको ‘इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरित विषाक्त रसायन मिथानोल मिसाइएको पाइएको सूचनामा उल्लेख छ ।
विभागद्धारा जारी सूचना अनुसार भक्तपुरको नेपाल कायाकल्प उद्योगको इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौंको हाइजिन सोप एण्ड क्यामिकल प्रालीको इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल र काठमाडौंको आधार क्यामिकल्स एण्ड फुड इन्डस्ट्री प्रालीको एडभान्स ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मिसाइएको पाइएको हो ।
यस्तै, काठमाडौंको सर्च केम कम हर्बल प्रोडक्टस्को इनस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र काठमाडौंको सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गरेको सूर्यमुखि ह्यान्ड स्यानिटाइजरमा विषाक्त रसायन मिथानोल मिसाइएको छ । “स्यानिटाइजरमा विषाक्त रसायान मिसाइएको पाइएकोले मानव स्वास्थ्यमा गम्भिर नकारात्मक असर पर्ने हुँदा सर्वसाधारणले प्रयोग नगर्न/नगराउनु हुन र साथै त्यस्ता स्यानिटाइजरको उत्पादन तथा बिक्रि वितरण अविलम्ब रोक्का राख्न सम्पूर्ण सरोकारवालालाई सूचीत गरिन्छ,” विभागद्धारा जारी सूचनामा भनिएको छ।
विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार एक हप्ताअघि बजारबाट १० ब्रान्डको ह्यान्डी स्यानिटाइजरको नमूना संकलन गरेर हेर्दा चार वटामा विषाक्त रसायन पाइएको हो । विभागले यसअघि नै भक्तपुरको कायाकल्प उद्योगले उत्पादन गरेका ह्यान्ड स्यानिटाइजर विषाक्त भएको सूचना जारी गरेको थियो।
केसीका अनुसार बजारमा दर्ता नै नभएका ह्यान्ड स्यानिटाइजको बिगबिगी भएको भन्ने गुनासोका आधारमा अनुगमन गर्दा करीब ४५ प्रतिशतमा विषाक्त रसयान पाइएको छ । विषाक्त रसायन राखेर ह्यान्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगहरु विभागमा दर्ता नै नभई अवैध रुपमा उत्पादन गर्ने गरेको समेत भेटिएको बताए ।
स्यानिटाइजरमा मिसाइएको मिथानोल छालामा प्रयोग गर्न यसअघि नै प्रतिबन्ध लगाइसकिएको छ । यो मानव स्वास्थ्यका लागि हानिकारक छ । यसलाई लामो समयसम्म प्रयोग गरे क्यान्सर समेत निम्त्याउनुका साथै यस्ता रसायनको सेवनले ज्यानै जोखिममा पर्ने सुचना अधिकारी केसी बताउँछन् ।

विभागद्धारा जारी सुचना