बुधवार, भाद्र २४ २०७७
नेपाल वाइड
बीपी जयन्तीमा स्थानीयलाई मास्क वितरण गर्दै नेबिसंघ खोटाङका सभापति राजकुमार बस्नेत
बीपी कोईरालाको १०७ औं जन्मजयन्तीको अवशरमा नेपाल विद्यार्थी संघ खोटाङले मास्क वितरण गरेको छ । बीपीको जन्मजयन्तीको अवशरमा नेबिसंघले बुधबार दिक्तेलबजारको रत्नपार्क, हाटडाँडा, अस्पतालचोक र त्रिबेणीचोकमा मास्क वितरण गर्दै कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सचेतनामुलक कार्यक्रम गरेको हो ।
अभियानकाक्रममा बजार आवत–जावत गर्ने स्थानीयलाई स्वास्थ्य सुरक्षा सम्वन्धी परामर्श सहित १ हजार ९५० थानभन्दा बढि सर्जिकल मास्क वितरण गरिएको नेपाल विद्यार्थी संघका जिल्ला सभापति राजकुमार बस्नेतले बताउनुभयो ।
घर बाहिर हिँडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न र कोरोना भाइरसबाट बच्ने स्वास्थ्य सुरक्षाका उपाय अपनाउनका लागि आग्रह गर्दै मास्क वितरण गरिएको नेविसंघले जनाएको छ । फरक–फरक समुहमा नेबिसंघले विद्यार्थी, कर्मचारी, श्रमिक, प्रहरी र सर्वसाधरणलाई माक्स वितरण गरेको होे ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण भेला भएर अन्य औपचारिक कार्यक्रम गर्ने अवस्था नभएकाले नेबिसंघले मास्क वितरणका साथमा सचेतनामुलक कार्यक्रम गर्दै बीपी जयन्ती मनाएको हो ।

नेबिसंघका जिल्ला सभापति बस्नेतको नेतृत्वमा रत्नपार्क (किराँतचोक)मा भएको कार्यक्रममा कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले मास्क वितरण गरेका थिए । यस्तै, नेविसंघका जिल्ला सचिव तेजिन्द्र घिमिरेको नेतृत्वमा त्रिवेणीचोकमा भएको कार्यक्रममा कांग्रेसका पुर्वसभापति विष्णुकुमार राई, सचिव ज्ञानेन्द्र जोशी र दिक्तेलका वडाध्यक्ष टंकप्रसाद आचार्यले, नेविसंघका जिल्ला सह–सचिव मोतिचन्द्र राईको नेतृत्वमा हाटडाँडामा भएको कार्यक्रममा पार्टी सचिव इच्छु राणा, जिल्ला सदस्य प्रकाश श्रेष्ठ तथा नेविसंघका जिल्ला सदस्य सुमन आचार्यको नेतृत्वमा अस्पतालचोकमा भएको कार्यक्रममा महासमिति सदस्य रविप्रकास राई र सूचना, प्रचार प्रसार विभाग प्रमुख सुमनवावु आचार्यले मास्क वितरण गरेका थिए ।