बुधवार, भाद्र २४ २०७७
नेपाल वाइड
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने केही दिनमा १३ औं संस्करणको आईपीएलमा सहभागी हुन यूएई प्रस्थान गर्ने भएका छन् । हाल क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिजमा रहेका उनी त्यहिबाट केही दिनमा यूएई प्रस्थान गर्ने जनाइएको छ ।
उनी क्यारेबियन प्रिमियर लिगमा रहेका अन्य आईपीएल खेल्ने खेलाडीसँग केही दिनमा यूएई प्रस्थान गर्ने सनदीपका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।
“सन्दीप दुई–तीन दिनमा वेस्टइन्डिजबाटै आईपीएलका लागि यूएई प्रस्थान गर्ने छन्,” सिवाकोटीले भने, “वेस्टइन्डिजबाट अन्तर्राष्ट्रिय उडान पनि भइरहेको छ । तर, क्यारेबियन प्रिमियर लिग खेल्ने अन्य खेलाडी पनि आईपीएल खेल्न आउँदैछन् । यता आयोजक आईपीएलले पनि सबै खेलाडीलाई एकै पटक ल्याउने भन्ने छ । त्यसका लागि आईपीएलले व्यवस्था मिलाउँदैछ । त्यसैले पनि उनीसँगै अन्य खेलाडी यूएई पुग्न अझै केही दिन लाग्न सक्छ ।”
सन्दीपले जमैका तलाबाजबाट सीपीएल खेलेका थिए । उनी सम्मिलित जमैका मंगलबार राति ट्रिनबागो नाइट राइडर्ससँग सेमिफाइनलमा ९ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरी सकेको छ । यस सिजन सीपीएलका ११ खेल्दै सन्दीपले १२ विकेट लिएका थिए ।