बुधवार, भाद्र २४ २०७७
नेपाल वाइड
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेको कदमप्रति गम्भीर असहमती जनाएका छन् । उनले कोरोना महामारी नियन्त्रणका सन्दर्भमा सरकारको उपस्थिति निषेधाज्ञा घोषणा गर्ने प्रमुख जिल्ला अधिकारीको रूपमा र अपराह्न ४ बजे कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रूपमा मात्रै देखिने गरेको बताएका हुन् ।
बुधबार सामाजिक सञ्जालमा उनले पोष्ट गरेका छन, ‘आजको दिनमा कोरोना महामारीका सन्दर्भमा सरकारको उपस्थिति केवल दुई स्थानमा भेटिन्छ । पहिलो निषेधाज्ञा घोषणा गर्ने प्रजिअको रूपमा र दोस्रो साँझ ४ बजे कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताको रूपमा । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा छ ।
संसद् बन्द गरिएको छ, सरकार एक शब्द बोल्दैन ।’ उनले थप लेखेका छन्, ‘आमनागरिक र जनप्रतिनिधिको कुरा सरकारसम्म पुऱ्याउने सब माध्यम बन्द छन् अनि प्रजिअको घोषणा र प्रवक्ताको अनुहार हेरेर हामीले सरकार पनि छ है भनेर मान्नुपर्ने ?’ कर्मचारीको काँधमा बन्दुक राखेर निषेधाज्ञाको गोली मात्रै जनतातर्फ नबर्साउन पनि उनको आग्रह छ । ‘आफ्ना कर्मचारीको अनुहार देखाएर काम चल्छ भन्ने लागेको हो र सिडियोको मुखबाट निषेधाज्ञाको आदेश र स्वास्थ्य मन्त्रालयको प्रवक्ताको मुखबाट कोरोना अपडेट सुनाएर समाधान हुन्छ भन्ने सोचमा सरकार हो भने प्रधानमन्त्रीज्यू, आमनेपालीको धैर्यताको बाँध कुनै पनि वेला फुट्न सक्छ । कृपया नागरिकको धैर्यताको जाँच नगर्नुहोस् ।