Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साढे १५ किलो सुन तस्करी प्रकरणमा दुई सुन व्यापारी पक्राउ

    साढे १५ किलो सुन तस्करी प्रकरणमा दुई सुन व्यापारी पक्राउ


    • बुधवार, भाद्र २४ २०७७

    • नेपाल वाइड


    साढे १५ किलो सुन तस्करी प्रकरणमा दुई सुन व्यापारी पक्राउ
    सांकेतिक तस्बिर

             काठमाडौं सुन्धाराबाट बरामद साढे १५ किलो नक्कली सुन तस्करी प्रकरणमा प्रहरीले न्यूरोडका दुई सुन व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा न्युरोडस्थित अष्टमंगल ज्वेलर्सका विजय ताम्राकार र लक्की ज्वेलर्सका श्रीनिवास उपाध्याय छन् ।

            महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई सात दिनअघि न्युरोडबाटै पक्राउ गरेको हो । संगठित अपराधअन्तर्गत अदालतबाट म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । सुनको जलप लगाएको साढे १५ किलो चाँदीसहित आधा किलो सक्कली सुन पनि प्रहरीले बरामद गरेको थियो ।

             प्रहरीका अनुसार सुन तस्करीका मुख्य आरोपित बारा परवानीपुरका ३८ वर्षीय इल्ताफ हुसेन अन्सारीले उक्त आधा किलो सुन लक्की ज्वेलर्सका म्यानेजर श्रीनिवाससँग खरिद गरेका थिए । श्रीनिवासले अष्टमंगल ज्वेलर्सका म्यानेजर विजयसँग र विजयले नेपाल राष्ट्र बैंकबाट उक्त सुन खरिद गरेका थिए ।

             राष्ट्र बैंकको नियमअनुसार खरिदपछि व्यापारीले ढिक्कै अर्को व्यापारीलाई बिक्री गर्न पाउँदैन । गहना बनाएर मात्र बिक्री गर्नुपर्छ । ‘पक्राउ परेका व्यापारीले सुन इल्ताफलाई दिएको पाइयो । उनीहरूले इल्ताफलाई ढिक्कै बेचेको पाइयो, जुन गैरकानुनी हो,’ एसपी राठौरले भने ।

            प्रहरीले यस प्रकरणमा इल्ताफसहित निलेश सखिया, विजय पटेल, मनीष मल्लिक, कौशल पटेल, दिवाङ पटेल तथा प्रहरी जवानहरू बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठलाई पक्राउ गरिसकेको छ ।

            उनीहरूविरुद्ध संगठित अपराध र हातहतियार तथा खरखजाना कसुरअन्तर्गत म्याद थप भई अनुसन्धान जारी छ । यस प्रकरणमा जोडिएका न्युरोडकै हुन्डी व्यापारी विकास अग्रवाल र सञ्जय पटेल भने फरार छन् ।

    सम्बन्धित समाचार