सोमवार, भाद्र २२ २०७७
नेपाल वाइड
सर्वसाधारणले शुल्क तिरेर जुनसुकै बेलामा पनि सबै सरकारी प्रयोगशालामा कोरोनाभाइरस परीक्षण गर्न पाउने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यसअघि सशुल्क परीक्षण गर्न पाउने नौवटा सहित ३४ वटै सरकारी प्रयोगशालामा परीक्षण विस्तार गरिएको बताए । डा. अधिकारीले भने, "अब शुल्क तिरेर सबै प्रयोगशालामा परीक्षण हुनेछ, तर दैनिक गरिने कुल परीक्षणको आधा मात्रै शुल्क लिएर गर्न पाउने गरी निर्णय गरिएको छ।"
सरकारले लक्षण देखिएका, सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका र अग्रपङ्क्तिमा खटिनेको नि:शुल्क कोरोनाभाइरस परीक्षण गर्ने गरेको छ । ब सङ्क्रमण भए/नभएको यकिन गर्नका लागि परीक्षण गर्न खोज्ने सबैले सबै सरकारी प्रयोगशालाबाट शुल्क तिरेर परीक्षण गर्न पाउने छन् ।
यसअघि काठमाण्डू उपत्यकाका वीर अस्पताल, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालका प्रयोगशाला एवं हरेक प्रदेशमा एउटा सरकारी प्रयोगशालालाई सशुल्क परीक्षणको अनुमति दिएको थियो । त्यसका अतिरिक्त १३ वटा निजी प्रयोगशालामा पनि सशुल्क परीक्षण गर्न अनुमति दिएको छ ।
सरकारको पछिल्लो निर्णयको लाभ सङ्क्रमण देखिएर १४ दिन आइसोलेशनमा बसेकाहरूले पनि लिन पाउने भएका छन् । सरकारले कोरोनभाइरस परीक्षणको शुल्क अधिकतम ४,४०० रुपैयाँ तोकेको छ।