Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु

    जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु


    • बिहिवार, भाद्र ११ २०७७

    • नेपाल वाइड


    जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु

               रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टी भएपछि बन्द गरिएको जिल्ला अस्पताल खोटाङको नियमित सेवा सुचारु भएको छ । गत भदौ ४ गते रेफर गरेपछि पाटन अस्पताल पुर्‍याइएकी १६ वर्षीय बालिकालाई गत सोमबार कोरोना संक्रमण पूष्टी भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर परिक्षणकाक्रममा आकस्मिक तथा प्रशुती बाहेकका सेवा बन्द गरेको अस्पतालले बिहिबारदेखि नियमित सेवा सुचारु गरेको हो ।

            बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी सहित ५६ जनाको नमूनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्ला अस्पतालको नियमित सेवा सुचारु गराइएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले बताउनुभयो ।

            बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीको पिसिआर परिक्षणका लागि मंगलबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएकामा बिहिबार नेगेटिभ रिपोर्ट आएको हो ।

            भदौ २ गते जिल्ला अस्पतालमा भर्ना भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी बालिकाको स्वास्थ्यमा सुधार नआएपछि अन्यत्र रेफर गरिएको थियो । जिल्ला अस्पतालले रेफर गरेका बिरामीलाई कोरोना संक्रमण पूष्टी भएपछि बाम्राङलाई बुधबारदेखि ‘शिल’ गरिएको छ ।

           संक्रमित बालिकाको परिवारका सदस्य, घुममिल भएका छिमेकी, बिरामी ओसार–पसारमा सहयोग गरेका आफन्त तथा शिक्षक लगायत १७ जनाको पिसिआर परिक्षणका लागि बुधबार नमूना संकलन गरिएको र सो को रिपोर्ट नआएसम्मका लागि वडालाई ‘शिल’ गर्ने निर्णय गरिएको वडाध्यक्ष ललितकुमार राईले बताउनुभयो ।

            हालसम्म जिल्लाबाट पिसिआर परिक्षणमा पठाइएकामध्ये २१ जनालाई संक्रमण भएको पूष्टी भएको छ । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ७ जना, हलेसी तुवाचुङ नगरपालिकाका ४ जना, ऐसेलुखर्क गाउँपालिकाका १ जना, बराहपोखरी गाउँपालिकाका १ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको हो ।

    यस्तै, बिराटनगरबाट सरुवा भएर आएका ७ जना प्रहरीलाई कोरोना संक्रमण भएको पूष्टी भएको जिल्ला अस्पतालले जनाएको छ ।

    सम्बन्धित समाचार