बिहिवार, भाद्र ११ २०७७
नेपाल वाइड
दिक्तेल रुपाकोट मझुवागढी नगपरपालिका वडानम्बर १ मा रहेको पञ्च माध्यमिक विद्यालय
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माबिले कोरोना भाइरस (कोभिड–१९)को महामारीकाबीचमा शिक्षण सिकाई गर्न सकिने बिकल्पको खोजी सुरु गरेको छ ।
कोरोना भाइरसको महामारीकाबीचमा पनि अवरुद्ध शैक्षिक सिकाईलाई सञ्चालन गर्ने उपयुक्त विधिको खोजीका लागि विद्यालयले नमूना शैक्षिक सर्वेक्षण सुरु गरेको छ ।
कोरोना महामारीका कारण शैक्षिक क्यालेण्डर तथा शिक्षण सिकाई भद्रगोल भएको अवस्थामा विद्यालयले नमूना शैक्षिक सर्वेक्षणका लागि बिहिबारदेखि वडाका ९ वटै टोलमा शिक्षक/शिक्षिकाको टोली परिचालन गरेको छ ।
बैकल्पिक सिकाईको खोजीका लागि अभिभावक भेटेर नमूना शैक्षिक सर्वेक्षण फारम भर्दै पञ्च माबिका शिक्षिका ।
विद्यार्थीको पारिवारिक विवरण, घरमा सूचना तथा प्रविधिको पहुँच, विद्यार्थीको सिकाई संलग्नता, अभिभावकको सक्रियता, कोरोना सम्वन्धी जानकारी एबं अभिभावकबाट आवश्यक सुझाव संकलन गरेपछि शैक्षिक सिकाईलाई अगाडि बढाउने उपयुक्त बिकल्प छनौट गरिने विद्यालयका प्रअ भवकृष्ण ढकालले बताउनुभयो । ‘कोरोना महामारीले शैक्षिक संस्था बन्द छ, विद्यालयलाई सँधै यसरी नै बन्द गरेर मात्र हुन्न ।
शिक्षण सिकाईलाई अघि बढाउन केही न केही बिकल्प त सोच्न जरुरी छ,’ प्रअ ढकालले भने, ‘सम्भव भएसम्म शैक्षिक सत्र जोगाउने, नसके सिकाईलाई जोगाउने हो । त्यो पनि नसके ज्यान जोगाउने शिक्षा दिने हाम्रो लक्ष्य हो ।’
सर्वेक्षणकाक्रममा विद्यार्थीको घरमा सुचना तथा सञ्चारको साधनको उपलव्धता, विद्यार्थीमा स्वअध्ययनको अवस्था, घरमा अभिभावकबाट भइरहेका सिकाई सहजीकरण, महामारीकैबीचमा शिक्षण सिकाईलाई सुचारु गराउन सकिने बिकल्प लगायतका बारेमा विवरण तथा सुझाव संकलन गरिने विद्यालयले जनाएको छ ।
सर्भेक्षणका माध्यमबाट विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकाको तथ्यांक समेत संकलन गरेर उनीहरुलाई विद्यालयसम्म ल्याउन पहल गरिने जनाइएको छ ।