शनिवार, भाद्र ६ २०७७
नेपाल वाइड
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद सुल्झाउन गठित कार्यदलले १७ पृष्ठ लामो प्रतिवेदन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।
कार्यदलले १३ वटा विषयमा सुझाव दिएको सचिवालयका एक नेताले जानकारी दिए । कार्यदलले बुझाएको प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर ४ को सचिवालय बैठकको निर्णयअनुसारै प्रतिनिधिसभाको यो कार्यकाल सरकारको नेतृत्व गर्ने विषय मुख्यरूपमा समेटेको छ । अर्को महत्त्वपूर्ण सुझावमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी अध्यक्षको भूमिका अझ बढाउन सुझाव दिइएको छ ।
मङ्सिर ४ को सचिवालय बैठकले अध्यक्ष प्रचण्डलाई बैठकको अध्यक्षता गर्ने, सञ्चालन गर्ने र निष्कर्ष सुनाउने अधिकार दिएको थियो । अहिले त्यसभन्दा एक कदम अघि बढेर सम्पूर्णरूपले पार्टी सञ्चालन गर्ने अधिकार प्रचण्डलाई दिएको छ । त्यसलाई स्थायी कमिटीसमेतले अनुमोदन गरेपछि थप व्याख्या हुने कार्यदलको निष्कर्ष रहेको छ ।
त्यस्तै सचिवालय बैठक अनुसार मन्त्रिपरिषद्को पुनःगठन गर्न कार्यदलले सुझाव दिएको ती सदस्यले बताए । “सचिवालय बैठकले निर्णय गरेर मन्त्रिपरिषद् हेरफेर गर्न सकिने सुझाव दिएको छ । त्यसको कार्यविधि पनि सचिवालयले नै बनाउन सक्ने सुझाव दिइको छ,” सचिवालयको नेताको भनाइ छ ।
कार्यदलले यसअघि पार्टीले गरेका निर्णय सरकारले प्रभावकारीरूपमा कार्यान्वयन गर्न पनि निर्देशन दिएको छ । विगतका स्थायी कमिटी, केन्द्रीय कमिटीले गरेका निर्णयहरू अक्षरशः पालना गर्दै पार्टीले सरकार चलाउने कमिटीको मर्मलाई आत्मसात गर्न सुझाव दिएको छ ।