मंगलवार, भाद्र २ २०७७
नेपाल वाइड
मिट द प्रेस कार्यक्रममा मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राईलगायत । तस्बिर: नेपाल वाइड
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ७३ लाखभन्दा बढि रकम खर्च गरेको छ । जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी/शिक्षकको तलव कट्टी, विभिन्न योजनाबाट रकमान्तर, संघीय सरकार, प्रदेश सरकार, व्यक्ती तथा संघसंस्थाबाट नगरपालिकाको कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा १ करोड ६ लाख ९८ हजार जम्मा भएकामा हालसम्म ७३ लाख ३५ हजार खर्च भएको नगरपालिकाले जनाएको छ ।
मंगलबार आयोजित मिट द प्रेस कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले राहत वितरणमा ४४ लाख ८६ हजार, क्वारेन्टीन सञ्चालन तथा व्यवस्थापनमा ११ लाख ५० हजार, स्वाव तथा बिरामी ओसार–पसारमा ९७ हजार, सूचना सञ्चार तथा सचेतना कार्यक्रममा ९७ हजार खर्च भएको जानकारी दिनुभयाे ।
कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महिनाको सेवा सुविधावापत ९ लाख ५४ हजार, नेपाल सरकारले तोकेको मापदण्ड अनुशार कर्मचारी (स्वास्थ्यकर्मी बाहेक) र शिक्षकको तलव कट्टीवापत १७ लाख ६० हजार, विभिन्न नगरस्तरिय योजना/कार्यक्रमबाट रकमान्तर तथा संशोधनबाट ५२ लाख ६३ हजार, स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रमबार रकमान्तर १२ लाख ८८ हजार, संघीय सरकारबाट १ लाख १३ हजार, प्रदेश सरकारबाट १० लाख र विभिन्न व्यक्ती तथा संघसंस्थाबाट ३ लाख १९ हजार जम्मा भएको मेयर रिजालले जानकारी दिनुभयो ।
मिट द प्रेस कार्यक्रममा कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास स्वरुप दिक्तेल, जालपा, नेर्पा र बुवालुङमा क्वारेन्टीन निर्माण गरेर सञ्चालनमा ल्याइएको, स्वदेश तथा विदेशबाट आएका नागरिकलाई क्वारेन्टीनमा राख्ने, उनीहरुको पिसिआर र आरडिटि परिक्षणको व्यवस्था मिलाइएको, हालसम्म ३५८ जनाको पिसिआर परिक्षण गर्दा ७ जनामा कोरोना पोजिटिभ पूष्टी भएको, संक्रमित सबै घर फर्किसकेको जानकारी दिइएको छ ।
यस्तै, कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिद गरिएको, तीन हजार भन्दा बढि परिवारलाई राहत प्रदान गरिएको, नगरपालिकामा दर्ता भएका संघ/संस्था तथा व्यवसाय नवीकरण दस्तुरमा २५ प्रतिशत छुट दिने, चैत महिनाको फोहरमैला व्यवस्थापन शुल्क छुट दिने निर्णय कार्यान्वयन गरिएको लगायतका क्रियाकलाप सञ्चालन गरिएको मेयर रिजालले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाले तीन वर्षको अवधिमा कृषि तथा पशुपंक्षी विकास, पुर्वाधार विकास, सामाजिक बिकास, वन, वाताबरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा प्राप्त गरेका उपलव्धीका बारेमा जानकारी दिएको छ ।