बिहिवार, श्रावण २९ २०७७
नेपाल वाइड
हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौमा निर्माणाधिनज कृषि उपज संकलन केन्द
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण सुरु गरेको छ । नगरपालिकाका ११ वटा वडाका किसानले उत्पादन गरेका खाद्यवस्तु, तरकारी तथा फलफुल संकलन गर्दै बिक्री गर्ने व्यवस्थाका लागि हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा संकलन केन्द्र निर्माण सुरु गरिएको हो ।
किसानले उत्पादन गरेका तर बजार नपाइरहेका कृषि उपज खरिद गरिदिएर संकलन गर्दै बिक्री गर्नका लागि कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
नगरपालिकाकै ११ वटा वडामा कृषि उपज बिक्री वितरण र विनिमय गर्ने वाताबरण बनाइने, त्यसक्रममा वडाबाट बिक्री नभएका थोकवस्तुलाई नगरपालिकाले खरिद गरिदिएर संकलन केन्द्रमा पु¥याउने लक्ष्य राखिएको छ ।
कृषि उपज उत्पादन हुने तर विक्री नहुने समस्य हल गर्नका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेटबाट कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरेको जनाएको छ । हालसम्म दुई वटा फलामे ट्रस र जमिनमा ढलान गरिने संकलन केन्द्रको हालसम्म ७५ प्रतिशत काम पुरा भएको मेयर राईले बताउनुभयो ।
नगरपालिकाका अनुशार कृषि उपज संकलन केन्द्रको घेराबारा हाल्ने र ढलान गर्ने काम बाँकी छ । किसानलाई व्यवसायीकरुपमा कृषि पेशामा प्रोत्साहित गर्नका लागि कृषि उपज संकलन केन्द्रको अवधारणा अघि सारिएको हो । ‘कृषिजन्य थोक उत्पादन हुन्छ तर बजार पाउँदैन । कसैको उत्पादन खेर गइरहेको छ, कसैले किनेर पनि खान पाइरहेको छैन,’ मेयर राईले भने, ‘यही समस्या हल गर्न संकलन केन्द्र बनाउन थालिएको हो । किसानले जे सुकै कृषिवस्तु उत्पादन गरे पनि हामी बजारको ग्यारेन्टी गरिदिन्छौँ ।’
लकडाउनका कारण निर्धारित समयमा कृषि उपज संकलन केन्द्र निर्माणको काम पुरा गर्न नसकिएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिका धान, मकै, गहुँ, गहत, बदाम, तिल, जुनेलो, सुन्तला, कागती, नासपाती, हरियार सागपात लगायतका खाद्यवस्तु उत्पादनका लागि चर्चित छ ।