सोमवार, श्रावण २६ २०७७
नेपाल वाइड
जिल्ला अदालत मोरङका एक जना न्यायाधीशमा कोरोना संक्रमण देखिएकाे छ । तीन कर्मचारी र एक न्यायाधीश गरेर चार जनाको स्वाब परीक्षण गरिएकोमा न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको हो । अरु तीन कर्मचारीको रिपोर्ट नेगेभिट आएको छ ।
न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि अदालतकाे काम कारबाही सोमबारबाट तीन दिनका लागि बन्द गरिएको छ । न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भए पछि अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले जनाकारी दिए ।
कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो ।
आफूसँग सम्पर्कमा रहेका एक जना प्रहरी अधिकृतमा कोरोना देखिएपछि न्यायाधीशले पनि आइतबार स्वाब परीक्षणका लागि पठाएका थिए । न्यायाधीशमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अदालतका ४० जना कर्मचारीको स्वाब संकलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको पौडेलले बताएका छन् ।
सबै कर्मचारीको पीसीआर परीक्षण रिपोर्ट प्राप्त भइसकेपछि अदालतको काम कारबाही कसरी अघि बढाउने भन्ने निर्णय हुने उनको भनाइ छ ।