बिहिवार, श्रावण २२ २०७७
नेपाल वाइड
बार्षिक क्रियाकलाप एबं भावी कार्यक्रमका बारेमा जानकारी दिँदै जिल्ला अस्पतालका प्रमुख रबिनकुमार फुयाँल ।
जिल्ला अस्पताल खोटाङले ‘एक वर्षे उपलव्धी’ सार्वजनिक गरेको छ । बिहिबार पत्रकार सम्मेलन गरेर अस्पतालले आर्थिक वर्ष २०७६/०७७ मा नियमित बाहेक सात वटा नयाँ स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिएको छ ।
आर्थिक वर्ष २०७६/०७७ देखि मुटुको शल्यक्रिया गरे पश्चात मुटुको अवस्था एबं रगतको अवस्था जाँच गर्नका लागि जिल्ला बाहिर जानुपर्ने वाध्यता अन्त्याका लागि पिटिआईएनआर जाँच सेवा सुरु गरिएको, थाइराईडको उपचारका लागि अन्यत्र जानुपर्ने समस्या हल गर्नका लागि इम्यूनोयसी एनालाइजर व्यवस्था गरेर टिएफटि जाँच सेवा सुरु गरिएको, वर्षौंदेखि सञ्चालनमा ल्याउन खोजिएको डिजिटल एक्स–रे सुविधालाई गत आर्थिक वर्षको असारदेखि सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल खोटाङका प्रमुख रबिनकुमार फुयाँलले जानकारी दिनुभयो ।
यस्तै, कुपोषण तथा शीघ्र कुपोषण नियन्त्रण तथा उन्मुलन गर्ने उद्धेश्य अनुरुप पोषण पुःर्नस्थापना गृह स्थापना गरी सञ्चालनमा ल्याइएको, नवजात शिशु तथा आमाको स्वास्थ्यमा समस्या आएमा निःशुल्क उपचार सेवा दिने सरकारको नीति अनुरुप प्रशुती गृह सञ्चालनमा ल्याइएको, सामाजिक विकास मन्त्रालयबाट दन्त चिकित्सक नियुक्त गरी दन्त चिकित्सा सेवा सञ्चालनमा ल्याइएको र अपरेशन गर्नुपर्ने बिरामीको लागि ब्लड बैंकको स्थापना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
गत आर्थिक वर्ष ३०३ जनाको सामान्य सुत्केरी गराइएको, १०३ जना गर्भवती महिलाको शल्यक्रिया गरेर सुत्केरी गराइएको तथा ५४ जनाको जटिल सुत्केरी गराइएको अस्पतालका प्रमुख फुयाँलले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष बहिरंग विभागबाट २४ हजार ७०७ जना र आकस्मिक कक्षबाट ७ हजार ३ सय बिरामीले उपचार पाएको जानकारी दिइएको छ । यस्तै, १२२ जना बिरामीलाई माथिल्लो स्वास्थ्य संस्थामा रेफर गरिएको र ७४ वटा लाशको पोष्टमार्टम गरिएको अस्पतालले जनाएको छ ।
कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले हाल १५ शैयाको अस्पताललाई चालु आर्थिक वर्ष ५० बेडमा स्तरोन्नती गर्ने राज्यको नीति अनुरुप आवश्यक उपकरण तथा सामग्रीको व्यवस्थाका लागि पहल गर्ने, अक्सिजन प्लाण्ट, वाटर ट्रिटमेन्ट प्लान निर्माण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।
यस्तै, ५० शैयाको अस्पतालका लागि आइसियू, माइक्रोबायोलोजी ल्याव लगायतका पुर्वाधारको तयारी सुरु गर्ने, इ–टोकन प्रणाली लागू गर्ने, टेलिमेडिसिन तथा आवश्यक भिडियो कन्फेरेन्सका लागि आवश्यक प्रविधिको व्यवस्थाका लागि पहल गर्ने चाम्लिङले बताउनुभयो । प्रदेशसभा सांसद रामकुमार राई पासाङले जिल्ला अस्पतालको विकास एबम् स्तरउन्नतीका लागि पहल गरिरेहको बताउनुभयो ।पत्रकार सम्मेलनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, दलका नेतालगायतलाई समेत बोलाइएको थियो ।