Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोरोना कहर/पठन–पाठनका आ–आफ्नै तयारी

    घरदेखि पाटीमा समेत गएर विद्यार्थीलाई पठनपाठन गराईदै

    घरदेखि पाटीमा समेत गएर विद्यार्थीलाई पठनपाठन गराईदै


    • बुधवार, श्रावण १४ २०७७

    • नेपाल वाइड


    घरदेखि पाटीमा समेत गएर विद्यार्थीलाई पठनपाठन गराईदै

    दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा पाटीमा पठन–पाठन गराउँदै महेन्द्रोद्धय आधारभुत विद्यालयका शिक्षक 

             खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय आधारभुत विद्यालय लिलिमाका प्रअ दुर्गाप्रसाद गुरागाईले ‘कुनैबेला पाटीमा गएर विद्यार्थी पढाउनुपर्ला’ भन्ने कल्पनासम्म गरेका थिएनन् । तर कोभिड–१९ ले निम्तिएको महामारीका कारण प्रअ गुरागाईले याम्खाकै एउटा सार्वजनिक पाटीलाई कक्षा कोठा बनाउनु परेको छ । लामो समयसम्म कोभिड–१९ कोे अशर साम्य हुने अवस्था नभएपछि गाउँपालिकाले अवरुद्ध पठन–पाठन सुचारु गराउनका लागि टोल–टोलमै कक्षा सञ्चालन गर्न भनेपछि महेन्द्रोद्धय आधारभुत विद्यालयले साउन ७ गतेदेखि एउटा कक्षा पाटीमै सञ्चालन गर्दैआएको छ ।

              लिलिमा र खामडाँडाका विद्यार्थी पुस्तक कापी सहित पाटीमा आइपुग्छन् । शिक्षक पनि शिक्षण सिकाईका लागि पाटीमै पुग्छन् । अवरुद्ध पठन–पाठन सूचारु गर्नका लागि महेन्द्रोद्धय आविले पाटी वाहेक एउटा सिकाई केन्द्र विद्यालयमै बनाएको छ । ‘विद्यार्थी पढाउन पाटीमा पुग्दा अनौठै हुन्छ । कक्षाजस्तो हुन्न । विद्यार्थीको बसाइ पनि विद्यालयमा जस्तो हुन्न,’ प्रअ गुरागाईले भने, ‘हामीले सिकाईमा सहजीकरण गरिरहेका छौँ । खास अप्ठ्यारो महसुस भएको छैन ।’

              यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मास्थित कृष्ण माविले पनि पाँच केन्द्र र तीन उपकेन्द्र बनाएर पठन–पाठन सञ्चालन गरिरहेको छ । कतिपय सिकाई केन्द्र विद्यालयमै बनाइएका छन्, कतिपय व्यक्तीका घर र आमा समुहको भवनलाई बनाइएको प्रअ मनीकुमार राई बताउँछन् । ‘सुरुमा त विद्यालय बाहिर कक्षा सञ्चालन सम्भव हुन्नजस्तो लागेको थियो तर सुरु गरेपछि सम्भव भयो ।

            झरी वर्षाका बेला बाहेक अहिले सहज पनि भएको छ,’ प्रअ राईले भने, ‘विद्यार्थीको उपस्थिति पनि सोचेभन्दा राम्रो छ । अभिभावक पनि उत्साहित छन् । विद्यालय बाहिरको पठन–पाठन पनि राम्रै हुने रहेछ । वर्षा भएकोबेला समस्या हुन्छ नत्र राम्रो फिडव्याक आइरहेको छ ।’

             असार मसान्त बित्दा समेत कोभिड–१९ को अशर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएकाले दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १५१ वटा केन्द्र निर्धारण गरेर पठन–पाठनलाई सुचारु गराएको हो । कोभिड–१९ का कारण ठप्प शैक्षिक क्रियाकलापलाई टोल–टोलमा विषयगत शिक्षक खटाएर सुचारु गराइएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

            विद्यार्थी खोज्दै टोलमा पुग्ने शिक्षक/शिक्षिका तथा विद्यार्थीका लागि मास्क, ग्लोव्स र सेनीटाइजरको प्रयोग अनिवार्य गरिएको छ । शैक्षित्र–सत्र सुरु भएको तीन महिना बितेपछि गाउँपालिकाले विषयगत शिक्षकलाई टोल–टोलमै पठाएर पठन–पाठनलाई अघि बढाउने बिकल्प छानेको हो । खटिएका शिक्षकले पायक पर्ने विद्यालय, आमा समुह, सचेतना केन्द्रको भवन, व्यक्तीकै घर, पाटी लगायतका ठाउँमा भेला भएका विद्यार्थीलाई पढाउने, होमवर्क दिने र मूल्यांकन गर्ने काम गरिरहेका छन् । एक टोलको फरक–फरक स्थानमा दैनिक कक्षा १ देखि कक्षा १० सम्मका एक/एक विषयको मात्र पठन–पाठनको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।

             विद्यालय बाहिरको पठन–पाठनकाक्रममा शैक्षिक सामग्रीको प्रयोग गर्न भने नपाइएको शिक्षक/शिक्षिकाको भनाई छ । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४८ विद्यालयमा ५ हजार ५१२ विद्यार्थी अध्ययनरत छन् । कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक अशर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्नका लागि विद्यालय कक्षाको बिकल्प अघि सारिएको हो ।

              शैक्षिक–सत्रको सुरुबाट पठन–पाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदा कटौती गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘बैसाखबाट सुरु हुनुपर्ने पठन–पाठन हालसम्म ठप्प रह्यो । हालसम्म सिकाई उपलव्धी शुन्य छ । विद्यार्थीमा पढ्ने बानी हट्दै जान थालेको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘तत्काल नै यो कोरोना संक्रमण अन्त्या हुने अवस्था पनि देखिन्न । महामारी रहिरह्यो भन्दैमा सिकाई उपलव्धीबिना विद्यार्थीलाई माथिल्लो कक्षामा अपग्रेड गर्ने कुरा पनि भएन । त्यही भएर सामाजिक दुरी कायम गरेर पठन–पाठन सुचारु गरिएको हो ।’

           खोटाङको ऐसेलुखर्क गाउँपालिकाले लकडाउनका कारण अवरुद्ध पठन–पाठन सुचारु गराएको छ । गाउँपालिकाका ४३ वटै विद्यालयमा सोमबारदेखि बैकल्पिक माध्यमबाट पठन–पाठन सुचारु गराइएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताउनुभयो । गत साउन ४ गतेको निर्णय अनुशार गाउँपालिकाले विद्यालय बाहिर रहेका शिक्षक तथा कर्मचारीलाई अनिवार्य पिसिआर परिक्षण गरेर साउन ११ गतेभित्र विद्यालयमा उपस्थित हुन निर्देशन दिएको थियो ।

           यस्तै, रावाबेँसी गाउँपालिकाले पनि साउन २० गतेदेखि नियमित विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ । साउन १५ गतेदेखि परिक्षण कक्षा सञ्चालन गर्ने र साउन २० गतेदेखि नियमित विद्यालय खुलाउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिकाले कोरोनाको महामारीकाबीचमा चालु शैक्षिक–सत्रको अवधि लम्व्याउने वा रद्ध गर्ने, पाठ्याक्रम छोट्याउने लगायतका विकल्पका विषयमा सुझाव संकलन गरिरहेको छ ।

          यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले साउन ३० गते नगर कार्यपालिकाको बैठकबाट कार्यविधि पास गरेर अवस्था बिश्लेषण गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पनि साउन २२ गतेदेखि टोल शिक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

    सम्बन्धित समाचार