शुक्रवार, श्रावण २ २०७७
नेपाल वाइड
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक तीनबजे बालुवाटारमा तय भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिएका छन । अहिले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ । दुईजना अध्यक्ष छलफल गरेर स्थायी कमिटी बैठक बस्ने र केन्द्रीय कमिटी आह्वान गर्दै बैठक टुंग्याउने कार्यसूची रहेको बताइएको छ । असार १० गतेदेखि जारी स्थायी कमिटीको पाँचौं बैठक आजै अन्त्य हुने बताइएको छ । पार्टीभित्रको संकट व्यवस्थापनका लागि एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् । बुधबार पार्टी अध्यक्षद्वय र वरिष्ठ नेता माधव नेपालसहितको वार्ता भएको थियो । त्यसले पनि निकास दिन नसकेपछि अब केन्द्रीय कमिटी बैठक नै बोलाउने तयारी थालिएको नेताहरूले बताएका छन् ।