बिहिवार, आषाढ २५ २०७७
नेपाल वाइड
खोटाङमा भोज खाँदा बिरामी परेर अस्पताल भर्ना भएका २० जना डिस्चार्ज भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुजन राईको छोरीको पास्नीको भोज खाएपछि बिरामी परेर जिल्ला अस्पताल दिक्तेलमा भर्ना भएका २४ जनामध्ये २० जना डिस्चार्ज भएर घर फर्किएका हुन् ।
बुधबार साँझ अस्पतालमा भर्ना भएकामध्ये चार जना बाहेक अन्य बिरामी बिहिबार बिहान डिस्चार्ज भएको अस्पतालका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताउनुभयो । हाल चार जनाको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । भोज खाएका स्थानीयलाई बान्ता हुने, पेट दुख्ने, रिङ्गटा लाग्ने र ढल्ने लक्षण देखिएपछि अस्पतालमा लगिएको थियो ।
बिरामी परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना र खोटेहाङ गाउँपालिकाका चार जना अस्पताल भर्ना भएका थिए । बिरामी पर्नेमा १६ वर्षमुनिका १२ जना छन् । भोज खाएर घर फर्किसकेका अन्य व्यक्ति समेत बिरामी परेको जानकारी आएकोे लफ्याङका वडाध्यक्ष निर्मल राईले बताउनुभयो ।
भोजमा बोलाइएका आफन्त तथा इष्टमित्रलाई मासुभातसँगै ‘ट्याङजुस’ बाँडिएको थियो । धेरै थरिका परिकार बाँडेकाले कुन खाद्य सामग्रीका कारण स्थानीय बिरामी परे भन्ने नखुलेको डा. श्रेष्ठले बताउनुभयो ।