शनिवार, आषाढ २० २०७७
नेपाल वाइड
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजलाई बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
पार्टीभित्र देखिएका विवाद समाधानका लागि प्रयास गर्न अध्यक्षद्वय जुटेको र विवाद समाधानका लागि केहि समय लाग्ने भएकाले बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
स्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोनमा कुराकानी भएर बैठक स्थगित गरिएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको नेकपा नेताहरु बताएका छन् ।
आज बिहान ९ बजे दुई अध्यक्षबीच छलफल तय भएको थियो । शुक्रबार पनि अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा तीन घण्टा छलफल भए पनि ठोस सहमति भएको थिएन ।
स्थायी समितिको अर्को बैठक असार २२ गतेका लागि बोलाइएको नेकपाले जनाएको छ । नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले प्रधानमन्त्री र अध्यक्षबाट ओलीलाई राजीनामा दिन आग्रह गरेपछि विवाद हुँदै आएको छ।