आइतवार, आषाढ १४ २०७७
नेपाल वाइड
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गर्दा भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका छन् ।
उनले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेवापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् ।
मदन भण्डारी फाउण्डेशनले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिल्लीका सञ्चार माध्यम र नेपालका होटेलहरुमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियताले आफूलाई हटाउने खेल चलिरहेको पुष्टि हुने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले अहिले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना कसैले नदेख्दा ठीक हुने चेतावनी पनि दिएका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन तर अहिलेको अवस्थामा म पदबाट हट्ने पनि हैन किनभने अहिले म हटेभने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन ।’
उनले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीमा रहिरहेको बताउनुभयाे ।
‘प्रधानमन्त्रीलाई कसैले हटाउँछु भनेको छ भने त्यो कसैले नसोचे हुन्छ, कसैले हतारो नगरे हुन्छ’, प्रधानमनत्री ओलीले भने, ‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, राष्ट्रियताको पक्षमा कदम चाल्दा प्रधानमन्त्री हट्न परोस्।’
ओलीले आफूलाई पदमा बस्ने मन नभए पनि राष्ट्रका लागि अनिवार्य भएको बताए। ओलीले आफू तत्काल हट्दा गलत नजिर स्थापित हुने बताउनुभयाे ।
भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमी समेटेर नक्सा जारी भएपछि भारत रुष्ट छ। भारतले पछिल्ला दिनमा सरकार परिवर्तनकै लागि खेल खेलेको भन्दै ओलीले यस्तो अभिव्यक्ति दिनुभएकाे हाे ।
सरकारले भारतसँग सीमा विवादका विषयमा कूटनीतिक माध्यमबाट वार्ताको प्रयास गरे पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन।
प्रधानमन्त्रीको जिम्मेवारीमा बस्ने मन छैन। तर, म अहिले हट्ने हो भने गलत नजिर स्थापित हुन्छ’, ओलीले भने, ‘म हटुँला, तर भोलि कोही नेपालको पक्षमा बोल्दा अर्को दिन हट्ने अवस्था हुन्छ। त्यसैले म आफ्नो लागि होइन देशका लागि, आजका लागि होइन भोलिका लागि प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्छ।’
ओलीले आफूले नक्सा सच्याएकै नाममा हटाउने चलखेल भएको भन्दै त्यो नसोच्न चेतावनी दिएका हुन्। वहाँले दूतावास र होटलमा चलखेल बढेको खुलासासमेत गरेका छन्।