Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    समुदायमा त्रास

    खोटाङबाट काठमाण्डौ फर्किएका प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि  

    खोटाङबाट काठमाण्डौ फर्किएका प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि  


    • शनिवार, आषाढ १३ २०७७

    • नेपाल वाइड


    खोटाङबाट काठमाण्डौ फर्किएका प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि  

               खोटाङबाट प्रहरी प्रधान कार्यालय काठ्माण्डौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि त्रास फैलिएको छ । बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अस्थायी प्रहरीचौकी छितापोखरीमा काजमा महिना दिन विताएर काठ्माण्डौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनको गाउँ, अस्थायी प्रहरीचौकी र उनी पुगेका आफन्तको घरमा त्रास फैलिएको हो ।

               गत फागुनमा बिदामा घर आएका थापा थरका प्रहरी जवान लकडाउनका कारण गत जेठ ६ गतेदेखि अस्थायी प्रहरीचौकी छितापोखरीमा सम्पर्क काजमा बसेका थिए । दरबन्दी भएको प्रहरी प्रधान कार्यालय अपराध महाशाखामा हाजिर हुनका लागि असार ८ गते ना १ ज ६०८३ नम्बरको जीपमार्फत काठ्माण्डौं गएपछि पिसिआर परिक्षणकाक्रममा उनलाई कोरोना संक्रमण भएको पूष्टि भएको जानकारी आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयाे ।    

                 काठ्माण्डौं जानेक्रममा असार ४ गते अस्थायी प्रहरीचौकीबाट रवाना बुझेका उनी असार ७ गते घरबाट पैदल हिँडेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित आफ्नो दिदिको घरमा पुगेको ट्राभल हिस्ट्रीले देखाएको छ । संक्रमित पूष्टि भएका प्रहरी जवानसँग बाम्राङकै दुई जना पुरुषले जीपमा यात्रा गरेको पाइएको छ । सो जीपका चालक भने काभ्रे चैरेदेउरालीका छन् ।

                 आफन्तको घरमा आएका प्रहरी जवानलाई संक्रमण भएको पूष्टी भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा समेत त्रास फैलिएको वडाध्यक्ष ललित राईले बताउनुभयाे । उनको सम्पर्कमा पुगेका १२ जनाको पिसिआर परिक्षणका लागि शुक्रबार नगरपालिका समक्ष लिखित माग राखिएको वडा कार्यालय बाम्राङले जनाएको छ ।
     

               प्रहरी जवान काठ्माण्डौं जानुअघि कहाँ–कहाँ पुगे वा क–कसको सम्पर्कमा पुगे भन्ने बारेमा अझै खुल्न बाँकी रहेको छ । उनलाई कारोना संक्रमण भएको पूष्टी भएसँगै बिहिबारदेखि उनको घर तथा अस्थायी प्रहरीचौकी छितापोखरी सिल गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

            प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टि भएपछि उनको परिवार तथा अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरीको पिसिआर परिक्षणको तयारी गरिएको छ । पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्न शनिबार जिल्ला अस्पतालबाट स्वास्थ्यकर्मी पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

            अस्थायी प्रहरीचौकीमा ५ जना प्रहरी कार्यरत छन् । उनीहरुसँगै भारतबाट आएका १४ जना नागरिकको समेत स्वाव संकलन गरेर पिसिआर परिक्षणमा पठाउने तयारी गरिएको छ । अस्थायी प्रहरीचौकीका प्रहरी नै जोखिममा परेपछि जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरिया समेत छितापोखरी गएका छन् ।

    सम्बन्धित समाचार