शुक्रवार, आषाढ १२ २०७७
नेपाल वाइड
काठमाडौं :
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो दिनको बैठकमा १८ जना स्थायी कमिटी सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका छन ।
बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गर्नुभएको थियो ।
वहाँले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पार्नुभएको छ । बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारायणकाजी बोलेका थिए ।
केही नेताहरुले भारतले नियमित रुपमा सीमा मिचिरहेका कारण भारतसँगको नाका सील गर्नुपर्ने आवाज उठाएका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति सदस्यहरूले लिम्पियाधुरासहितको नक्सा जारी हुनु ऐतिहासिक काम भएको भन्दै सुस्ता क्षेत्रको सीमा विवाद पनि हल गर्नुपर्ने सुझाव दिएको जानकारी दिनुभयो ।
बैठकमा महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्य व्यस्तताका कारण बैठकमा आफू उपस्थित हुन नसकेको जानकारी गराउनुभएको थियो । बैठकमा कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचार, नेपालको सीमा समस्या र समाधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र विविध कार्यसूची छ । स्थायी कमिटीको अर्को बैठक शनिबार ११ बजे बस्नेछ ।