बुधवार, आषाढ १० २०७७
नेपाल वाइड
एमसीसीबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । अहिले विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने एक नेताले बताएका छन ।
नेकपामा एमसीसीलाई संशोधन नगरी पारित गर्न नहुने मत बलियो रहेकाले स्थायी कमिटीको बैठकको बहुमतले एमसीसी सम्झौतालाई अस्वीकृत गर्ने सम्भावना बढेको बताइएको छ । एमसीसी सम्झौता संसदले पारित गर्नुपर्ने म्याद असार १७ गते सकिँदै छ सो दिन दिउँसो संसद बैठक बस्दैछ । त्यो दिन संसदले यो सम्झौता पारित गरेन र यसको म्याद पनि थपिएन भने स्वतः निश्क्रिय हुनेछ ।
साथै अमेरिकाले नेपाललाई दिने भनिएको ५० करोड अमेरिकी डलर अनुदान सहयोग पनि रोकिने छ । त्यसैले बुधबारको नेकपा स्थायी कमिटी बैठक महत्वपूर्ण मानिएको छ । यो बैठकले जे निर्देशन दिन्छ, सोही सर्कुलरअनुसार नै नेकपा संसदीय दलले निर्णय गर्नुपर्ने हुन्छ । एमसीसीको पक्षमा एकमत नभएपछि सुझाव दिन भन्दै नेकपाले भलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाएको थियो ।
कार्यदलको बहुमतले एमसीसी सम्झौता हुबहु पारित गर्न नमिल्ने मतसहितको प्रतिवेदन तयार पारेर पार्टी नेतृत्वलाई बुझाइसकेको छ ।