शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
खोटाङका किरात समुदायले महान चाड साकेला चाडको विदाई गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको लकडाउनका कारण जिल्लाका किरात सामुदायले अनौपचारिकरुपमा साकेलाको बिदाई गरेका हुन् ।
दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बृहत साकेला शिली प्रदर्शद गर्दै साकेलाको विदाई गर्ने परम्पराकाबीचमा यसपल्ट भने किरात राई यायोक्खाको कार्यालयमा शनिबार नछुङ, किरात राई यायोक्खा र किरात सेवा समाजका पदाधिकारी÷प्रतिनिधिको उपस्थितिमा विधि पुरा गरेर साकेलाको विदाई गरिएको हो ।
लकडाउनका कारण यसवर्षको साकेला औपचारिकतामा सिमित गरिएको किरात राई यायोक्खा खोटाङका सचिव युगसन किरातले बताए । साकेला विदाईका लागि नछुङ, यायोक्खा र किरात सेवा समाजका टोली डोल, झ्याम्टा बजाउँदै हाटडाँडाबाट माटिकोरे हुँदै यायोक्खाको कार्यालय पुगेका थिए ।
लकडाउनका कारण बढिमा २५ जनाको उपस्थितिमा मात्र चाडवाड मनाउने व्यवस्था भए अनुशार विगतको तुलनामा यस वर्षको साकेला रौनकविहिन बनेको यायोक्खाले जनाएको छ । किरात समुदायको बसोबास रहेको प्रतेक गाउँ ढोल–झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्नुपर्नेमा लकडाउनका कारण प्रायः सुनसानजस्तै बनेको थियो ।
बैसाख पूर्णीमाको अवशरमा गत बैसाख २६ गते सुरु भएको साकेला उभौली चाड पुर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङ, काठ्माण्डौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिन्छ ।