शनिवार, आषाढ ६ २०७७
नेपाल वाइड
खोटाङका तीन जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएको पूष्टी भए लगत्तै अस्पताल भर्ना गरिएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका २१ वर्षका हिमाल कार्की, २१ वर्षकै भुवन कार्की र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ४५ वर्षीय खुम्बराज राई शुक्रबार डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज भएका उनीहरुलाई घर फर्काउनका लागि व्यवस्थापनको काम भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताउनुभयो । केही समयअघि मात्र भारतबाट आएपछि क्वारेन्टीनमा राखिएका उनीहरुलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि गत जेठ २३ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगरमा भर्ना गरिएको थियो ।
कामका सिलसिलामा भारतको कानपुर पुगेका कार्कीद्धय गत जेठ ११ गते गाउँ आइपुगेका हुन् । यस्तै, राई भारतबाटै जेठ १६ गते गाउँ आइपुगेको नगरपालिकाले जनाएको छ । भारतबाट आएपछि उनीहरु सामाजिक सम्पर्कमा पुग्न नपाएका कारण अन्यलाई जोखिम नभएको नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
यससँगै खोटाङमा कोरोना संक्रमण भएका सबै संक्रमित निको भएका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका २० वर्षीय युवा यसअघि नै डिस्चार्ज भइसकेका छन् ।