Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घरमै गोलभेडा फलाउने सजिलो विधि आफु पनि गर्नुहोस

    घरमै गोलभेडा फलाउने सजिलो विधि आफु पनि गर्नुहोस


    • शनिवार, जेठ ३१ २०७७

    • नेपाल वाइड


    घरमै गोलभेडा फलाउने सजिलो विधि आफु पनि गर्नुहोस

    सागसब्जीमा मिसाउन होस् वा अचार बनाउन, गोलभेडा चाहिन्छ । तरकारी, दाल, अचारदेखि सलादसम्ममा गोलभेडा प्रयोग गरिन्छ। त्यसैले त हाम्रो भान्सामा धेरै खपत हुनेमध्ये एक हो, यो । गोलभेडाले खानेकुराको स्वाद बढाउने, रंग आकर्षक देखाउने मात्र होइन यो आफैँमा पोषणयुक्त पनि हुने गर्छ । त्यसैले गोलभेडाको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

    तर, सधैंभरि गोलभेडा उपलब्ध हुँदैन । बजार जाने अनुकूलता पनि मिल्दैन । त्यसमाथि गोलभेडा उत्पादन गर्ने क्रममा विभिन्न विषादीको प्रयोग गरिएको हुन सक्छ । त्यसो हो भने किन आफ्नै घरमा, आफ्नै हातले उत्पादन नगर्ने ? गोलभेडा रोप्नका लागि ठूलो ठाउँ चाहिँदैन। गमलामा समेत गोलभेडा उत्पादन गर्न सकिन्छ। भान्साको आसपासमा खाली भाग भए त्यहाँ पनि रोप्न सकियो ।

    धेरैलाई अनुभव नहुन सक्छ, गोलभेडा कसरी रोप्ने ?

    पहिलो चरण

    सबैभन्दा ठाउँको छनौट गरौं। गोलभेडा उत्पादनका लागि त्यस्तै ठाउँ उपयुक्त हुन्छ, जहाँ पर्याप्त घाम लाग्छ। किनभने गोलभेडालाई दिनमा ८-१०  घण्टाको घामको उज्यालो चाहिन्छ। ओसिलो ठाउँमा गोलभेडा राम्ररी फस्टाउँदैन ।

    2.jpg

    चरण–२

    जति सम्भव हुन्छ, उति नै ठूलो गमला छनौट गरौं । गोलभेडाको बोटलाई एकदमै धेरै पोषकतत्वको आवश्यकता पर्छ। यसैले यसका लागि पर्याप्त माटो अटाउने गमला उपयुक्त हुन्छ । जति-जति बोट बढ्दै जान्छ, मल र माटो पनि थप्नुपर्छ । अण्डाको खोललाई धुलो बनाएर माटोमा मिसाउँदा निकै राम्रो हुन्छ ।

    चरण–३

    रोप्ने ठाउँ तयार भयो, गमला तयार भयो । त्यसपछि बिउ चाहिन्छ। कुनै पनि गोलभेडाबाट बिउ निकाल्न सकिन्छ। यद्यपि आफूसँग भएको गोलभेडाको बिउ गुणस्तरीय छैन भन्ने लागेमा स्थानीय नर्सरीबाट पनि खरिद गर्न सकिन्छ।

    बिउलाई गमलामा राखेर माथिबाट हल्का माटोले छोपिदिने । यसमा थोरैथोरै पानी राख्नुपर्छ, नियमित रुपमा । केही समयपछि बिउ अंकुराउन थाल्छ । एक इन्च जति लामो भएपछि त्यसलाई गमलाबाट अर्को गमलामा सार्नुपर्छ । एउटा गमलामा एउटै मात्र बिरुवा रोप्नुपर्छ।

    3.jpg

    चरण–४

    गोलभेडा रोपेपछि त्यसको माटोलाई सुख्खा हुन दिनुहुँदैन । थोरैथोरै पानी सिञ्चित गरिरहनुपर्छ । गमला हल्का चिसो हुनुपर्छ तर धेरै गिलो हुनुहुँदैन । गोलभेडाको बिरुवा बढ्दै गएपछि त्यसलाई स-साना लट्ठीले थाँक्रा लगाउनुपर्छ वा डोरीले बाँध्न पनि सकिन्छ । यसले गर्दा फल लाग्न थालेपछि बोट भाँचिदैन ।

    चरण–५

    गोलभेडाको बिरुवामा दिनहुँ पानी राख्नुपर्छ। माटो र मल पनि बेलाबखत थप्नुपर्छ । सुख्खा पात वा कुहिएको पात, डाँठलाई निकाल्नुपर्छ। यसरी राम्ररी स्याहारसुसार गरेपछि गोलभेडा राम्ररी उत्पादन हुन्छ।

    tomatoes last pic.jpg

     

    सम्बन्धित समाचार