शुक्रवार, जेठ ३० २०७७
नेपाल वाइड
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कडा चट्टान नै चट्टानले ढाकिएको ककनी डाँडालाई ‘रक गार्डेन’ बनाउने काम थालेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने त्रि–धार्मिकस्थल हलेसी नजिकै रहेको ककनी डाँडालाई पर्यटकीयक्षेत्रकारुपमा बिकास गर्नका लागि ढुंगे बगैँचा बनाउने काम थालिएको हो ।
क्रमागत योजनाकारुपमा करिब साँढे पाँच करोडमा सम्पन्न हुने ‘चुरेडाँडा रक गार्डेन’ निर्माणको काम आईतबार नगरपालिकाका मेयर इवन राई र उपमेयर बिमला राईले शिलान्यास गरेका छन् । स्थानीयस्तरमा रोजगारीको अवशर सिर्जना गर्ने र नगरपालिकाको आम्दानीको दिर्घकालिन श्रोतकारुपमा विकास गर्नका लागि विभिन्न आकृतिका ढुंगैढुंगाले ढाकिएको डाँडालाई रक गार्डेनकारुपमा विकास गर्ने योजना अघि सारिएको हो ।

ककनी डाँडाका करिब १६० रोपनी सरकारी जग्गामा फैलिएको चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने डिपिआरमा उल्लेख छ । ‘यस आर्थिक वर्ष चुरेडाँडा रक गार्डेनको वरिपरी पर्खाल र रेलिङ हालेर घेरा हाल्ने तयारी गरिएको छ,’ मेयर राईले भने, ‘अर्को वर्षबाट स्ट्रक्चर र गार्डेनिङको काम हुन्छ ।’ यस आर्थिक वर्ष ‘रक गार्डेन’ निर्माणका लागि प्रदेश सरकारले ४० लाख बजेट बिनियोजन गरेको छ ।
हलेसी मन्दीरभन्दा करिब आधा घण्टा पैदलमाथि रहेको सिंगो डाँडा खोपेर बनाएजस्ता चुच्चो–चुच्चो परेका ढुंगाले ढाकिएको छ । प्राकृतिक चट्टानले बनेको ककनीको मन्दीरभन्दा केही माथि रहेकाले हलेसी र ककनीमा पुग्ने पर्यटकलाई रक गार्डेनमा पु¥याउन सकिने सम्भावना रहेको मेयर राईले बताए । हलेसीमा आए लगत्तै फर्किने पर्यटकलाई घुमफिर गराउने र केही दिन अलमल्याउने उपायको खोजीमा ककनी डाँडामा रक गार्डेनको परिकल्पना गरिएको हो । रक गार्डेन बनाउनका लागि डाँडामा रहेका कुनै पनि ढुंगालाई नबिगारी÷नचलाई सजावटका काम गरिने मेयर राईले बताए । ‘ककनीडाँडामा सुन्दर र कलात्मक आकृतिका ढुंगा छन्, हामी त्यसलाई अशर नपुग्ने गरी सजावटका काम मात्र गर्ने छौँ,’ मेयर राईले भने, ‘यसलाई नगरपालिकाको महत्वपूर्ण पर्यटकीय क्षेत्रकैरुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।’
ककनीडाँडा उत्तरतर्फका हिमश्रृंखला र वरपरका दृश्यावलोकनका लागि चर्चित छ । झट्ट हेर्दा बालुवा सिमेन्टले बनाएजस्ता सेतो रंगका ढुंगाले ढाकिएको ककनी डाँडा वारपार गर्न ३० मिनेटदेखि ४५ मिनेट लाग्छ । मध्यपहाडी लोकमार्गबाट पैदल उकालो करिब ३० मिनेटमा पुग्न सकिने सो ठाउँमा स्थानीय घुमफिर र पिकनिक जाने गरेका छन् । ककनीडाँडालाई आकर्षकस्थल बनाउनका लागि प्राकृतिकरुपमै सजिसजाउ ढुंगालाई सजाउने, ढुंगाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुंगे गेट बनाउने, ढुंगे धारा निर्माण गर्ने, ढुंगा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्या झल्काउने मुर्ती बनाउने, प्राकृतिक ढुंगालाई नचलाईकन कालो, सेतो र रातो ढुंगा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला संस्कृति झल्कने सजावट गर्ने तयारी गरिएको छ । यस्तै, सगरमाथा लगायतका हिमालको तस्बिर खिच्न, दृश्यावलोकन गर्न र रम्नका लागि ढुंगाकै स–साना गेट निर्माण गर्ने, रक गार्डेनको चारैतिर तारवार तथा वाल लगाउने, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्नका लागि ढुंगाकै कलात्मक सिँढी निर्माण गर्ने, पर्यटक बिसाउने वा रिल्याक्स गर्नका लागि डाँडाडाँडामा काठबाट बनेको बिसौनी राख्नेगरी डिपिआरमा उल्लेख छ ।
यस बाहेक रक गार्डेनमा विद्युत, पिउनेपानी, विश्रामस्थल, केवलकार, भोजनालय, कफीसपसम्मको परिकल्पना गरिएको छ । ककनीडाँडाकै एकापट्टीको भीरमा रक क्लाइबिङको सम्भावना छ । आवश्यक संरचना निर्माण गर्न सके ककनीडाँडा पर्यटकको गन्तव्यस्थलकारुपमा विकास हुने सम्भावना रहेको स्थानीय रेवती केसीले बताए । भस्मासुरले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाईला परेपछि कलात्मक ढुंगा निस्किएको किंवदन्ती रहेको छ ।