बिहिवार, जेठ २९ २०७७
नेपाल वाइड
खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाका १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
भारतका विभिन्न स्थानबाट आएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका नौ सहित १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
स्वाव संकलन गरेर पिसिआर परिक्षणका लागि बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला प्रदेश नम्बर १ बिराटनगर पठाइएकामा बिहिबार सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।
जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका आरडिटि रिपोर्ट पोजिटिभ देखिएका एक जना र दाङबाट आएका दुई कर्मचारीको पिसिआर रिपोर्ट पनि नेगेटिभ देखिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाईरसको संक्रमण भए-नभएको पत्ता लगाउनका लागि ९१ जनाको आरडिटि परिक्षणकाक्रममा चिसापानीका एक जनाको रिपोर्ट पोजिटिभ देखिएको थियो ।
नियमित गाउँमै बसिरहेका भए पनि उनको आरडिटि रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए ।
यसअघि जन्तेढुंगा गाउँपालिकाका संक्रमणको आशंका गरिएको पाँच जनाको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।