बिहिवार, जेठ २९ २०७७
नेपाल वाइड
मलेसियामा ज्यान गुमाएका खोटाङको साकेला गाउँपालिका–३ खिदिमा कोक्राका कुलबहादुर खत्रीको विदेशमै अन्त्येष्टी गरिएको छ । ‘लकडाउन’का कारण अन्र्तराष्ट्रिय उडान नहुँदा खत्रीको मलेसियामै दाहसंस्कार गरिएको हो ।
गत चैत २५ गते ज्यान गुमाएका खत्रीको शवलाई स्वदेश ल्याउने लामो प्रयास असफल भएपछि जेठ २२ गते मलेसियामै अन्त्येष्टी गरिएको उनका भतिजा तिलाबहादुर खत्रीले बताए । खत्रीको दाहसंस्कार पछि घरमा रहेका मृतकका छोरा पनि मृत्यु संस्कारमा बसेको आफन्तले बताएका छन् । ‘लकडाउन’का कारण खत्रीको शव मलेसियाकै कुवाला पिला अस्पतालमा राखिएको थियो ।
खत्री प्लान्टेसनको कामका लागि राज ओभरसिज प्रालि काठ्माण्डौंबाट तीन वर्षअघि मलेसिया पुगेका थिए । पेटालिङ जया सेलाङगोरस्थित साइम डार्बी प्लान्टेसन बिरहाड कम्पनीमा काम गर्नेक्रममा बाईक दुर्घटना हुँदा उनको मृत्यु भएको बताइएको छ । बसिरहेको कोठाबाट केही समयका लागि भनेर बाहिर निस्किएका खत्री नहरमा बाईकसँगै डुबिरहेको अवस्थामा फेला परेका थिए ।
उनले मोबाईल भने कोठामै छाडेर गएको उनका साथीहरुले बताएका छन् । फेसबुक अनलाईनमा देखेर बोलाउन जवाफ नआएको र फोन गर्दा अरुले नै फोन उठाएर घट्नाका बारेमा जानकारी दिएको आफन्तले बताएका छन् । कतारमा दुई वर्ष बिताएका खत्री पुःन मलेसिया पुगेका थिए । ‘मृत्युको कारण खुलेको छैन । कम्पनीले व्यक्तीगत कामका लागि बाहिर जाँदा दुर्घटना भएको भनेको छ,’ तिलाबहादुरले भने, ‘लकडाउनका कारण शवलाई पनि घर पु¥याउन सकिएन । परिवारबाट मलेसियामै अन्त्येष्टी गर्ने अनुमती मिल्यो ।’ मृतक खत्रीका श्रीमति सहित पाँच छोरी र दुई छोरा छन् ।
यस्तै, यूएई (दुबई)मा ज्यान गुमाएका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको पनि यूएईमै दाहसंस्कार गरिएको छ । भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमै दाहसंस्कार गरिएको हो । परिवारले जसरी पनि शव घरसम्म ल्याउने वाताबरणका लागि हारगुहार मागे पनि लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा तामाङको शव स्वदेश फर्काउन नसकिएपछि उतै दाहसंस्कार गरिएको हो ।
कम्पनीमा आवद्ध हुनु अगावै ज्यान गुमाएका तामाङको शव लामो समयसम्म रसिदिया अस्पताल दुबईमा राखिएको थियो । उनको हृदयघातका कारण मृत्यु भएको अस्पतालको रिपोर्टमा उल्लेख छ । सुदीप परिवारका एक्लो छोरा हुन् । भिजिट भिसामा यूएई गएको र कम्पनीमा आवद्ध भइनसकेकाले तामाङको शव नेपाल ल्याउनका लागि नेपाली दुताबासले पनि अपेक्षित सहयोग नगरेको यूएईमा रहेका नेपालीको गुनासो छ । रोजगारीका सिलसिलामा यूएई पुगेको केही समयपछि उनको मृत्यु भएको हो ।