सोमवार, जेठ २६ २०७७
नेपाल वाइड
नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पूर्णरुपमा असफल भएको निषकर्ष निकालेको हो । सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै कांग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निष्कर्ष निकालेको छ । पर्याप्त स्वास्थ्य सामाग्री आपुर्ति गर्न नसक्नु, आपुर्ति गरिएका स्वास्थ्य सामाग्रीमा व्यापाक भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टाइन नहुनु,क्वारेन्टाइनमा रहेकाको कोरोना परीक्षण गर्न किटको अभाव हुनु लगायतले सरकारको असफलता भएकोे ठहर कांग्रेसले गरेको छ । संकटको बेला पनि सरकारी राहतमा राजनीतिकरण भएको तथा लकडाउनका कारण भोकमरीले जनताको ज्यान जान थालेकाले जनताले देशमा सरकार भएको अनुभुति गर्न नसकेको कागे्रशको निष्कर्ष रहेको छ । कोरोनाबाट प्रभावित अर्थतन्त्रको उत्थानका लागि उद्योग व्यवसायीलाई उचित प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग माग गरेको छ । त्यसैगरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, स्थानीय तहका निर्वाचित प्रतिनिधि र संञ्चारकर्मी लगायत कोभिड १९ विरुद्धको लडाईमा अग्रपक्तिमा रहेर काम गर्नेहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।