आइतवार, जेठ २५ २०७७
नेपाल वाइड
अमेरिकाभरि शनिवार पनि जातीय विभेद र प्रहरी क्रूरताविरुद्धको प्रदर्शन जारी रहेको छ। प्रहरी नियन्त्रणमा रहेका अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्युपछि सुरु भएको प्रदर्शनको शनिवार बार्हौँ दिन हो । जातीय विभेदविरुद्धको प्रदर्शन विश्वका अन्य भागमा पनि फैलिएको छ। यूके र अस्ट्रेलियामा कोरोनाभाइरसका जोखिम रहँदा रहँदै पनि ठूलो सङ्ख्यामा मानिसहरू प्रदर्शनमा सहभागी भएका छन् । अमेरिकाको राजधानी वाशिङ्टनमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा दशौँ हजार मानिसहरू सहभागी भएका छन् । प्रहरीले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस पुग्ने सबै बाटोहरू बन्द गरेको छ । वाशिङ्टनमा शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई मेयर मुरिअल बाउसरले स्वागत गर्दै प्रदर्शनले राष्ट्रपति डोनल्ड ट्रम्पलाई एउटा सन्देश दिएको बताएका छन् । बाउसरले सङ्घीय सुरक्षा बलमा जवानहरू र न्याश्नल गार्ड सैनिकहरूलाई वाशिङ्टन सहरबाट हटाउन माग गरिन् । गएको सोमवार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउस नजिकैको चर्चसम्म जान बाटो खोल्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो। ट्रम्पले वाशिङ्टनमा सैनिक परिचालन गरेका छन् । न्यूयोर्क, शिकागो र सान फान्सिस्कोमा पनि ठूला प्रदर्शनहरू भएका छन् । फ्लोइडको जन्मस्थल नर्थ क्यारोलिनामा भने मानिसहरूले उनलाई श्रद्धान्जली प्रकट गरेका छन् । न्यूयोर्कमा प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिज पार गरे भने शिकागोमा गोल्डन गेट ब्रिज केही समयका लागि बन्द गरे । निहत्था फ्लोइडको मे २५ मा मिनियापलिसमा प्रहरी नियन्त्रणमा मृत्यु भएको थियो। भिडिओहरूमा एक श्वेत प्रहरी अधिकृतले झन्डै नौ मिनेट घुँडाले भुइँमा लडाइएका फ्लोइडको घाँटी थिचेको देखिन्छ । घाँटी थिचेका प्रहरीलाई हत्थाको अभियोग लगाइएको छ भने त्यहाँ रहेका अन्य तीन प्रहरीलाई हत्यामा सहयोग गरेको अभियोग लगाइएको छ। उनीहरू चारै जनालाई बर्खास्त गरिएको छ। यूकेभरि हजारौँ मानिसहरूले जातीय विभेदविरुद्धको प्रदर्शनमा सहभागिता जनाएका छन् । लन्डन, म्यानचेस्टर, कार्डिफ र शेफिल्ड लगायतका सहरहरूमा प्रदर्शन भएका छन् । लन्डनमा एक मिनेटको मौनधारणपछि प्रदर्शनकारीहरूले नारा लगाउन सुरु गरेका थिए ।दिनभरि प्रदर्शन शान्तिपूर्ण रहे पनि बेलुकी प्रधानमन्त्री निवास नजिकै भने केही हिंसा भएका छन् । बीबीसी सम्वाददाता टम साइमन्ड्सका अनुसार प्रहरीतर्फ प्रदर्शनकारीले पट्का प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन घोडा प्रयोग गरेका थियो । एक घोडचडीको टाउको ट्राफिक बत्तीमा ठोक्किएपछि उनी खसेको बताइएको छ। उनलाई सामान्य चोट लागेको छ । त्यहाँबाट प्रहरीले १४ जना गिरफ्तार गरेको र १० जना प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको खबर विविसिले लेखेकाे छ ।