Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको हलेसीस्थित महेन्द्रोद्धय माबिको सिभिल इन्जिनिरिङको पठन–पाठन प्रभावित

    खोटाङको हलेसीस्थित महेन्द्रोद्धय माबिको सिभिल इन्जिनिरिङको पठन–पाठन प्रभावित


    • मंगलवार, जेठ २० २०७७

    • नेपाल वाइड


    खोटाङको हलेसीस्थित महेन्द्रोद्धय माबिको सिभिल इन्जिनिरिङको पठन–पाठन प्रभावित

    लकडाउनका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित महेन्द्रोद्धय माबिको सिभिल इन्जिनिरिङको पठन–पाठन प्रभावित भएको छ । प्राविधिक धारतर्फको पठन–पाठनका लागि अन्यत्र जानुपर्ने वाध्यता अन्त्याका लागि २०७६ सालदेखि सुरु गरिएको सिभिल इन्जिनिरिङको पठन–पाठन प्रभावित भएको हो । हाल विद्यार्थी भर्ना गरेर आधाभन्दा बढि सैद्धान्तिक कोर्स पूरा हुने बेलासम्म लकडाउनका कारण विद्यार्थी भर्ना नै अनिश्चित बनेको महेन्द्रोद्धय माबिका प्रअ चक्रबहादुर राईले बताउनुभयो । गत वर्ष कक्षा ९ मा सिभिल इन्जिनिरिङतर्फ ४० जनाभन्दा बढि विद्यार्थी भर्ना भएकामा यसपल्ट विद्यार्थी संख्या बेटुंगो बनेको विद्यालयले जनाएको छ । रोजगार पाउन सहज हुने तथा ‘स्कोप’ भएकाले महेन्द्रोद्धय माबिमा जिल्लामै पहिलोपल्ट प्राविधिक धारतर्फ कक्षा ९ देखि सिभिल इन्जिनिरिङको पठन–पाठन सुरु गरिएको थियो । प्राविधिक धारमा विद्यार्थीको आकर्षण राम्रो देखिए पनि लकडाउनका कारण सिभिल इन्जिनिरिङको कक्षा भद्रगोल बन्न पुगेको प्रअ राईले बताए । महेन्द्रोद्धय माबिमा ओभरसियर तहसम्मको प्रमाणपत्र दिनेगरी शिक्षा तथा मानव श्रोत बिकास केन्द्र सानोठिमी भक्तपुरकै लगानीमा सिभिल इन्जिनिरिङतर्फ कक्षा ९ देखि १२ सम्मको पठन–पाठन सुरु गरिएको हो । पहाडी क्षेत्रमा सस्तो खर्चमा ओभरसियर तहसम्मको अध्ययन गर्न सकिने भए पनि लकडाउनले समस्या निम्त्यिाएको प्रअ राईले बताए । ‘गत वर्षको अनुभवमा विद्यार्थी भर्ना दर सन्तोषजनक नै थियो । तर, लकडाउनका कारण यो वर्ष विद्यार्थी भर्ना गरेर सैद्धान्तिक पढाई पुरा भइसक्नुपर्ने बेलासम्म पठन–पाठनको टुंगो छैन,’ प्रअ राईले भने, ‘नगरपालिकाले कक्षा ८ को रिजल्ट पनि प्रकाशन गरेको छैन । पठन–पाठन डामाडोल भएको छ । शैक्षिक संस्थाको ढाँचा नै परिवर्तन गर्नुपर्ने अवस्था देखिएको छ ।’
    लकडाउनकै बीचमा पनि महेन्द्रोद्धय माबिले सिभिल इन्जिनिरिङको कक्षामा विद्यार्थी भर्नाका लागि आव्हान गरेको छ । अभिभावक तथा चिनजानका माध्यमबाट विद्यार्थी जुटाउने प्रयास जारी रहेको सिभिल इन्जिनिरिङ कक्षाका प्रशिक्षक ईन्जियर सुमन खनालले बताए । लकडाउन खुले लगत्तै सिभिल इन्जिनिरिङको इन्ट्रान्स हुने भएकाले सम्पर्कका लागि विद्यालयले अभिभावक तथा विद्यार्थीलाई आग्रह गरेको छ । ‘सिभिल इन्जिनिरिङ पढ्नका लागि कापी, पुस्तक लगायतका शैक्षिक सामग्रीमा बाहेक शुल्क लाग्दैन । जिल्लाका विद्यार्थीका लागि यो सुनौलो अवशर हो,’ ईन्जियर खनालले भने, ‘लकडाउन खुल्ने वित्तिकै इन्ट्रान्स हुन्छ । इन्ट्रान्समा एसइई उत्तिर्ण नगरेका जुनसुकै ठाउँका विद्यार्थी भर्ना हुन पाउँछन् ।’

     

    सम्बन्धित समाचार